बेलायतको लण्डन वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ। गत मङ्गलबार फेला पारेको शव लन्डन मेट्रोपोलिटन प्रहरीले औँठाछाप परीक्षण गर्दा रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको हो।

ओली गएको अप्रिल २१ तारिखदेखि  सम्पर्कविहीन भएपछि उहाँ अध्ययनरत क्याम्पसका विद्यार्थीले प्रहरी र नेपाली दूतावासलाई जानकारी गराएका थिए । दूतावासले नेपालीको राहदानी विभागबाट मगाएको औँठाछाप परीक्षण गर्दा शवसँग सो औँठा छाप मिलेको लन्डन प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावासका प्रवक्ता एवम् उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिनुभयो।

प्रहरीले अहिलेसम्मको अनुसन्धानमा ओलीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको र मृतकका परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको उहाँको भनाइ छ। हालसम्मको अनुसन्धान र घटनाक्रमबारे परिवारलाई खबर भइसकेको जानकारी दिँदै दुवाडीले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले मृत्यु शङ्कास्पद नरहेको बताएको छ। बाँकी कुरा थप अनुसन्धानपछि बाहिर आउला ।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked *