भारतका ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ३६ वर्षिय कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट लेख्दै टेस्टबाट सन्यासको घोषणा गरेका हुन्।
टेस्ट क्रिकेटमा १२३ खेल खेलेका उनले ४६ दशमलव ८५ को औसतमा ९ हजार २ सय ३० रन बनाएका छन्। कोहलीले भारतीय कप्तान रोहित शर्माले आफ्नो टेस्ट करियर समाप्त गरेको पाँच दिनपछि इन्स्टाग्राममा यो निर्णय पोस्ट गरेका हुन्। सन् २०११ मा पदार्पण गरेदेखि कोहलीले ३० शतक र ३१ अर्धशतक बनाए। उनको उच्चतम स्कोर २५४ नटआउट थियो।
६८ टेस्टमा टोलीको नेतृत्व गरेका उनी भारतका सबैभन्दा सफल टेस्ट कप्तानहरूमध्ये एक हुन्। ‘किङ्ग कोहली’ उपनामले चिनिने उनी तीनवटा अन्तर्राष्ट्रिय ढाँचामा भारतको ब्याटिङको मेरुदण्ड थिए र गत वर्ष बार्बाडोसमा आफ्नो टोलीको विश्वकप फाइनल जितमा म्याच जित्ने पारीका साथ आफ्नो टि–२० करियरको अन्त्य गरेका थिए।
उनले केही दिन अघिनै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) लाई आफ्नो निर्णयबारे जानकारी गराइसकेका थिए। बीसीसीआइले भने उनलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो।
