प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेकी जापानका उपविदेशमन्त्री इक्युना आकिकोले शनिबार शिष्टाचार भेट गरेकी छन्।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीचको गहिरो र मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गरे। उनले जलवायु परिवर्तनले ल्याएका विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सगरमाथा संवादको आयोजना गरिएको बताउँदै यसमा जापानको सहभागिताका लागि उपमन्त्री इक्युनालाई धन्यवाद व्यक्त गरे।
साथै, प्रधानमन्त्री ओलीले अनुकूल पूर्वाधार निर्माण, वातावरण दिगोपना र विपद् जोखिम न्यूनीकरणमा जापानी अनुभव आफूहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।
उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै बहुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताइन्। भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।
