भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै बौद्धस्थित पाँचतारे हयात होटलको ग्राउण्डमा प्रस्तुति दिएकी छन्।
नोरासँगै नेपाली कलाकारहरु दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतको प्रस्तुतिले हयात ग्राउण्ड रौनकमय बन्यो।
शनिबार बिहान दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी नोरालाई पञ्चेबाजाले भव्य स्वागत गरेको थियो।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल र नेपाली दर्शकबाट प्राप्त मायाप्रति कृतज्ञता व्यक्त गर्दै काठमाडौंका ऐतिहासिक र सांस्कृतिक स्थलहरूको अवलोकन गर्ने इच्छा व्यक्त गरिन्।
उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य भने शुक्रबार नै नेपाल आइसकेका थिए। शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ कार्यक्रम आयोजना भएको हो।
नोरा आइतबार बिहान भारत फर्किने कार्यक्रम छ। नोराका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन्।
उनको यो भ्रमण र प्रस्तुतिले नेपाल-भारत सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।





