कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ। पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ। कैलालीको धनगढीमा २० दशमलव ६ मिलिमिटर पानी परेको छ।

सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेकोले ठूलो पानी परेका क्षेत्र भई बहने खोला आसपासमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले भनेजस्तो अरू ठाउँमा भने खासै ठूलो पानी नपरेको भएपनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाले हिजो दिउँसो मधेशबाहेकका अरू प्रदेशमा र राति गण्डकीदेखि सुदूरपश्चिमसम्मका थोरै ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरेको थियो। तर बितेको २४ घण्टामा कञ्चनपुर र पर्वतमा मात्रै ठूलो पानी परेको महाशाखाको रेकर्डमा उल्लेख छ।

हिजो दिउँसो मधेश प्रदेशको सर्लाही र धनुषामा पनि मध्यम पानी परेको छ। आज पनि मधेशबाहेकका अरू प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *