‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ। भगवान श्रीकृष्ण धर्म, प्रेम र साहसको अमर प्रतीकलाई हिन्दू धर्ममा भगवान विष्णुको आठौं अवतार मानिन्छ। उनी देवकी र वासुदेवका आठौं पुत्र हुन्।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
पाटनको मङ्गलबजारमा रहेको प्रसिद्ध कृष्णमन्दिरमा बिहानैदेखि मेला लागेको छ। श्रीकृष्ण मन्दिर रहेका अरु ठाउँमा पनि दर्शनार्थीको घुइँचो छ। त्यस्तै पशुपति क्षेत्र, वसन्तपुर दरबार क्षेत्रसहित श्रीकृष्ण मन्दिर रहेका अरु ठाउँमा पनि भक्तजनको भीड लागेको छ।
विभिन्न धार्मिक सङ्घसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि छ। अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुशीयालीमा भाद्रकृष्ण नवमीका दिन विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ।
धार्मिक ग्रन्थका अनुसार कंश देवकीका दाजु थिए। कंश अत्यन्त शक्तिशाली र निर्दयी राजा थिए। भविष्यवाणी अनुसार, देवकीको आठौं सन्तानले कंशलाई मार्नेछ। डर र क्रोधले भरिएका कंशले तुरुन्तै देवकी र वासुदेवलाई कारागारमा थुने।
देवकी र वासुदेवको लागि यो समय अत्यन्त कठिन थियो। उनीहरूले जन्माएको प्रत्येक सन्तान कंशको क्रुरताको शिकार बन्दै थियो। भगवान कृष्णको जन्ममा चमत्कार भयो। रातको अन्धकारमा जन्मिएका कृष्ण अत्यन्तै सानो भए पनि सम्पूर्ण ब्रह्माण्डको शक्ति लिएर आएका थिए।
वासुदेवले साहसिक कदम चाल्दै नवजात कृष्णलाई यमुना नदी पार गरेर गोपालघर पुर्याए। उनले बाल्यकालका रमाइलो लीला सुरु गरे। गोपालघरमा कृष्णले गोवर्धन पर्वत उठाएर गाउँलाई प्राकृतिक विपत्तिबाट बचाए, गाईको हेरचाह गरे, र व्रजवासीयसँग रमाइलो जीवन बिताए।
कृष्णले जब बाँसुरीको मधुर स्वर बजाउँथे, गोपीकाको मन मात्र होइन, गाई, हावा, र यहाँसम्म कि प्रकृतिका फूल र वृक्ष पनि मन्त्रमुग्ध हुने गर्थे। बाँसुरीको मीठो र अनौठो धुनले सबैको हृदयमा शान्ति, प्रेम र भक्तिको भाव जगाउँथ्यो।
