कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएका छन्। तीमध्ये केहीको मृत्यु भएको र केहीको अवस्था गम्भीर रहेको कुवेतस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ।
दूतावासले मृतकप्रति गहिरो समवेदना प्रकट गर्दै भर्ना भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन दूतावासले विशेष आग्रह गरेको हो।
कुवेतको स्वास्थ्य मन्त्रालयले मेथानोल मिसावट गरेको रक्सी खाएका कारण एक सय ६० जना भन्दा धेरै प्रभावित भएका र उनीहरुमध्ये २३ जनाको ज्यान गएको जनाएको छ। मृतक सबैजसो एशियाली देशका रहेका मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।
दूतावासका अनुसार घटना सार्वजनिक भएपछि राजदूतसहितका कर्मचारीले तुरुन्त विभिन्न अस्पताल पुगेर उपचाररत नेपालीहरूको अवस्थाबारे जानकारी लिएको र सम्बन्धित अस्पतालसँग निरन्तर सम्पर्कमा रहँदै उचित उपचारका लागि समन्वय गरिरहेको जनाएको छ।

