भारतका विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन उनी नेपाल आउन लागेको बताइएको छ।

प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनसम्म भारतको भ्रमण गर्ने यसअघि नै अनौपचारिक रूपमा समाचार सार्वजनिक भइसकेको छ। प्रधानमन्त्री ओलीलाई औपचारिक निम्ता दिनका लागि भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका स्रोतले जनाएको छ।

परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री भदौ १ देखि २ गतेसम्म नेपाल भ्रमणमा रहने भारतीय विदेश मन्त्रालयले आज विज्ञप्तिमार्फत जनाएको छ ।

विदेश सचिव मिस्रीको यसपालिको भ्रमणले नेपाल–भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय आदान–प्रदानलाई निरन्तरता दिने र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन अवसर दिलाउने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।