प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याएर मनाउँदैछन्। यस दिन ल्याइएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ भन्ने धार्मिक विश्वास छ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएकाे कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार आज उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिन्छ भने अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न पाइन्छ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्‍टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ। आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ।

पितृ सम्मान
यस अवसरमा छोराछोरीले आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर प्रकट गर्ने र बाबुको मुख हेर्ने परम्परा छ। बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्छन्।

विशेषगरी काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्ने गर्दछ। यस दिन दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान र सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ। त्यस्तै रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि यस्तै मेला लाग्ने परम्परा छ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार आज छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद लिन्छन्। बाबु दिवङ्गत भइसकेका सन्तानले गोकर्ण वा अन्य तीर्थमा गई तर्पण र सिदादान गरेमा पुण्य मिल्ने र कुल स्थिर हुने विश्वास छ।

आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल प्राप्त हुने भएकाले यसलाई पुण्य पर्व पनि भनिन्छ। तर दान सधैं सुपात्रलाई गर्नुपर्ने शास्त्रीय मान्यता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *