पाल्पामा स्क्रब टाइफसबाट एक बालिकाको ज्यान गएको छ। रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी १२ वर्षीया अस्मिता कुमालको ज्यान गएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जीवन रानाले जानकारी दिनुभयो।

स्थानीय वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत अस्मिताको गुल्मीको रिडी प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको थियो। लगातार ज्वरो, टाउको, गर्धन र घाँटी वरिपरि पसिना, बिमिरा आउने लगायतका समस्या भएपछि उपचारका लागि लगिएको मृतकका परिवारले जनाएका छन्।

स्क्रब टाइफस साना कीराहरूको टोकाइबाट सर्ने एक संक्रामक रोग हो। यो रोगको संक्रमण भएका मानिसमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, आँखाको गेडी रातो हुनेजस्ता लक्षण देखिन्छ। समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सो, आदिको संक्रमण हुने र भित्री अंगले काम गर्न छाडेर ज्यान जाने रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए।

रैनादेवी छहरामा गएको साउनदेखि अहिलेसम्म ४८ जनामा स्क्रब टाइफस र १० जनामा डेङ्गीकाे पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *