राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कात्तिक १७ मा हुने रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। रास्वपाले उम्मेदवारका लागि आवेदन दिएका ९ जनामध्येबाट प्राइमेरी इलेक्सनमार्फत थापालाई उम्मेदवार बनाउने घोषणा गरेको हो।
उम्मेदवार छनोटका लागि रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो। अनलाइन मतदानमार्फत सबैभन्दा बढी भोट प्राप्त गरेका थापालाई उम्मेदवार घोषणा गरिएको रास्वपाले जनाएको छ। थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए।
डा. थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। उनले एमबिबिएस, इन्टरनल मेडिसिनमा एमडी र न्युरोलोजीमा एमडी गरेका छन्। हाल उनी काठमाडौं महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरको न्युरोलोजी विभाग प्रमुख छन्। त्यस्तै, उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन्।
डाक्टर थापा यसअघि भने नागरिक उन्मुक्ति पार्टीका सदस्य थिए। उनी वैशाख अन्तिम सातासम्म नाउपाको समानुपातिकको बन्दसूचीका उम्मेदवार थिए। २०७९ को निर्वाचनमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उनी समानुपातिक सूचीमा परेका हुन्। आयोगको विवरण अनुसार उनको नाम प्राथमिकता क्रमको पाँचौं नम्बरमा थियो। रूपन्देही–३ मा उपचुनाव हुने भएपछि उनी नागरिक उन्मुक्तिबाट राजीनामा दिएर रास्वपातिर लागेका थिए।
रास्वपाका लुम्बिनी प्रदेशका नेताहरूका अनुसार बैशाख दोस्रो साता नाउपाबाट राजीनामा दिएर बन्द सूचीबाट आफ्नो नाम हटाउन आग्रह गरेका थिए। उनको राजीनामा अध्यक्ष रञ्जिता श्रेष्ठले स्वीकृत गरेपछि नाउपाकै पत्रको आधारमा निर्वाचन आयोगले साउन २१ गते थापालाई बन्द सूचीबाट हटाइएको थियो।
