‘जेन–जी’ पुस्ताले काठमाडौँ लगायत देशका विभिन्न भागमा गरेको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनलाई निरन्तरता दिएको छ।
देशका विभिन्न शहरमा भएको दुई दिनको प्रदर्शनपछि लागेको निषेधाज्ञाको समयमा मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेको अवस्था बुझ्न आयोगले निरन्तरता दिएको सहसचिव एवम् प्रवक्ता टीकाराम पोख्रेलले बताउनु भएको छ।
विगत २ दिनमा घटेका हिंसात्मक कार्य, आगजनी र तोडफोडले देशको ठूलो जनधनको क्षति भएको घटनापछि अब कोही कसैले पनि हिंसात्मक कार्य नगर्न/नगराउन आयोगले सबैलाई आह्वान गरेको छ।
देश विषम परिस्थितिमा रहेकाले वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुन आयोगले आग्रह गरेको छ। साथै अनुगमन अनुसन्धान कार्यमा आवश्यक सहयोग पुर्याउन र मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई आवतजावतमा सहजीकरण गर्न समेत आयोगले सम्बद्ध सबैमा आग्रह गरेको छ।

