नेपाली सेनाले अहिलेको विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ।
सेनाको जनसम्पर्क निर्देशनालयले सूचना जारी गर्दै आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएकाले भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आग्रह गरेको हो।
गएराति नेपाली सेनाले सत्ता पूर्वराजालाई हस्तान्तरण गर्दैछ भन्ने झुटा प्रचार भएपछि सेनाले आफ्नो धारणा स्पष्ट पारेको हो।
सूचना आदानप्रदानको लागि सूचना निर्देशनालय लगायत देशभर रहेका पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न पनि आग्रह गरेको छ। सेनाले देशका विभिन्न ठाउँमा रहेका आठ वटा पृतना हेडक्वार्टरका फोन नम्बरसहितको विवरण सार्वजनिक गर्दै भ्रामक सूचनामा विश्वास नगर्न भनेको हो।


