निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्।
गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। स्कुल जलेर पूर्णरुपमा नष्ट भएपछि विद्यालयले हाल अनलाइनबाट कक्षा संचालन गरिरहेको छ। १० देखि १२ कक्षा र आइबीको कक्षा दशैंपछि फेस टु फेस संचालन गर्ने तयारी छ।
राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्ष मात्रै हुन्। तर, पनि अराजक भीडले आरजुको स्कुल’ भन्दै युलेन्सलाई निशाना बनाएको थियो।
अहिले राणाले अभिभावकको बैठकमा राजीनामा दिएको जानकारी गराएको एक अभिभावकले बताए। उनले राजीनामा दिएसँगै छिट्टै नयाँ अध्यक्ष छान्ने तयारीमा स्कुल रहेको छ। यसैगरी खरानीबाट उठेर फेरि नयाँ ढंगले स्कुल सञ्चालन गर्ने तयारीमा युलेन्स रहेको बताइएको छ।
विद्यालयले पूर्णरुपमा फेस टु फेस कक्षा ३-४ महिना भित्र संचालन गर्ने योजना बनाएको छ।
