मनसुनी वायु थप सक्रिय हुँदा गएरातीदेखि देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि वर्षा गराउने प्रणाली थप सक्रिय हुने भन्दै सोमवार २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली नेपालको विभिन्न भागमा प्रवेश गरी आगामी दिनहरूमा भारी वर्षा गराउने पूर्वानुमानसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सात बुँदे निर्देशन जारी गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १७ देखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यस अवधिमा नारायणी, बागमती, कमला र कोशी नदीमा पानीको बहाव सतर्कता तहमा पुग्न सक्ने चेतावनी दिइएको छ।

विशेष जोखिम क्षेत्रका रूपमा काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही र रौतहटलगायतका जिल्लामा आकस्मिक बहाव तथा पहिरोको जोखिम औंल्याइएको छ।

प्राधिकरणले अनावश्यक रुपमा घर बाहिर ननिस्कन, विशेष गरी राति यात्रामा नजान तथा जोखिमपूर्ण स्थानबाट टाढा रहन आग्रह गरेको छ। साथै, जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई वर्षा र सडकको अवस्था मूल्याङ्कन गरी आवश्यक परे सवारी सञ्चालनमा रोक लगाउने अधिकार प्रयोग गर्न निर्देशन दिइएको छ।

पहिरो तथा डुबानको सम्भावना भएका नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन, सुरक्षित र अग्लो स्थानबारे जानकारी लिन–दिन, आपत्कालीन अवस्थामा तत्काल स्थानान्तरणको तयारी राख्न पनि आग्रह गरिएको छ।

त्यस्तै, तीनै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला सबैलाई पूर्वतयारीसहित प्रतिकार्यमा खटिन तयार रहन भनिएको छ। जोखिमयुक्त राजमार्ग र सडकमा तत्काल परिचालन गर्न डोजर, एक्साभेटर, लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्नसमेत प्राधिकरणले निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *