सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गरेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ती व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, गृह मन्त्रालय अन्तर्गतको समिति, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त प्रतिवेदनका आधारमा ४५ जनाको नाम सहिदको सूचीमा समावेश गरिएको हो।

‘हामीले प्राप्त अध्ययन र प्रतिवेदनको आधारमा ४५ जनालाई राज्यको तर्फबाट सहिद घोषणा गरेका छौं,’ मन्त्री खरेलले भने, ‘हालका लागि यही सूचीलाई अन्तिम मानिएको छ र थप अध्ययन गर्ने योजना छैन।’

जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित देशका विभिन्न भागमा व्यापक प्रदर्शन भएको थियो। सो आन्दोलनमा सुरक्षाकर्मीसहित मृत्यु हुनेको संख्या ७३ पुगेको थियो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय अनुसार, राजपत्रमा शहीदहरूको नाम प्रकाशित गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *