आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको सबै खेलमा नेपाल पराजित भएको छ। आफ्नो अन्तिम खेलमा आज नेपाली टोली ४ विकेटले पराजित भएको छ।
नेपालले अमेरिका र यूएईसँगका समान दुई वटा खेल गुमाएको थियो। नेपाल पहिलो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो। यस्तै अमेरिकासँग पहिलो खेलमा १ सय ६ रन र दोस्रो खेलमा ४ विकेटले पराजित भएको भएको थियो।
हिजोको खेलमा नेपालले दिएको २ सय ४० रनको लक्ष्य युएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रन बनाएको थियो।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे। त्यस्तै कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ रन बनाए। यूएईका लागि जुनैद सिद्दीकी, मोहम्मद जवादुल्लाह र ध्रुव परासरले समान २–२ विकेट लिए।
व्याटिङतर्फ यूएईका मोहम्मद शहदादले सर्वाधिक ९६ रन बनाए। नेपालका लागि करण केसीले ३ विकेट लिए भने नन्दन यादव, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।
यो हारसँगै २० खेलमा १२ अङ्क जोडेको नेपाल अंकतालिकाको सातौँ स्थानमा पुगेको छ। जितसँगै यूएई समान खेलबाट १० अङ्कसहित अन्तिम स्थानमा छ। २४ खेलमा ३६ अंकसहित अमेरिका तालिकाको पहिलो स्थानमा छ।
