नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विजयी शुरुआत गरेको छ। बिहिबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो।
चितवनले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो। लुम्बिनीका गुल्बादिन नइबले अविजित ४४, कप्तान रोहितकुमार पौडेलले ३९ र सन्दीप जोराले २८ रन बनाए। चितवनका रिजन ढकालले २ र सोहेल तानवीरले १ विकेट लिए।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनका लागि रवि बोपराले ५५ बलमा ४ चौका र तीन छक्काको मद्धतमा ६६ रन बनाए। त्यस्तै कुशल मल्लले १८ बलमा २१ रन बनाए। त्यसैगरी सैफ जैवले १५, देव खनालले १४ र दीपक बोहाराले १० रन बनाए। लुम्बिनीका रूवेन ट्रुम्पलेन सर्वाधिक तीन विकेट लिए भने अभिशेष गौतम र गुलाबदिन नैवले दुई विकेट लिए।
यस अगाडि चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो।
