नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स लगातार दोश्रो खेलमा विजयी भएको छ। आज भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेनजर्सलाई १८ रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ९४ रनको लक्ष्य पोखराले पछ्याउन सकेन। पोखराले निर्धारित २० ओभरमा ८ विकेट गमाउँदै मात्र १ सय ७५ रन मात्र बनाउन सक्यो।

पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५३ रन बनाए। त्यस्तै जिम्मी निसमले ४७ र डान डाउथवेटले ३७ रनको योगदान दिए। सुुदूरपश्चिमका लागि हर्मित सिंहले २, स्कट कुगलेन, दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी, अविनाश बोहरा र नरेन साउदले १–१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १९३ रनको विशाल योगफल खडा गरेको थियो। सुदूरपश्चिमका लागि जौस ब्राउनले सर्वाधिक ६८ रन बनाए। त्यस्तै विनोद भण्डारीले ४३ रन बनाउँदा क्रिस लेनले आक्रमक ३१ रनको इनिङ खेले। उनले १३ बलमा ३१ रन बनाएका थिए। पोखराका लागि जिमी निसमले ३, आकश चन्द र डान डाउथवेटले २–२ विकेट लिएका थिए।

शनिबार पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेल काठमाडौँ गोर्खाज र विराटनगर किंग्सबीच हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *