फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिएको छ।

यसअघि कात्तिक मसान्तसम्मका लागि नामावली दर्ताको समय रहेकोमा नयाँ मतदाताको दर्ताको चाप बढेपछि आयोगले हिजोसम्मका लागि समय थप गरेको थियो।

निर्वाचन आयोगले सात लाख भन्दा बढी मतदाता थपिएको जानकारी दिएको छ। आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गरेपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको थियो।

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि नाम दर्ता गराएका मतदाताहरुले मंसिर २१ देखि २७ गतेसम्म आफूले भरेको तथ्याङ्क गलत भए सच्याउन निवेदन दिनसक्ने जनाएको छ ।

नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि आयोगको वेबसाइट वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ ।

प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी पुष १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।