दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दैछन्। दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्। दुवै खेल बिहान र साँझ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।
चारै टोली पहिलो पटक एक–आपसमा खेल्न लागेका हुन्। यो सिजनमा एक खेल गुमाइसकेको जनकपुरको यो दोस्रो खेल हो। उद्घाटन खेलमा जनकपुर काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो। विपक्षी टोली विराटनगर भने उत्कृष्ट लयमा छ। उसले यसअघि पोखरा र काठमाण्डु दुवैलाई पराजित गरिसकेको छ।
यस्तै दोस्रो खेलमा कर्णालीले अहिलेसम्म खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ। सुदूरपश्चिम भने लगातार तीन खेलमा जित निकाल्ने लक्ष्यमा छ। यसअघि सुदूरपश्चिमले काठमाण्डु र पोखरालाई हराइसकेको छ भने कर्णालीले लुम्बिनीलाई पराजित गरेको छ।
अहिलेसम्म दुई दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन् भने तीन खेल खेलिसकेको काठमाण्डु दुई अंक जोड्दै तेस्रो स्थानमा छ।
प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुईदुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन्। जनकपुरले एक खेल मात्र खेलेको छ भने पोखराले दुई प्रतिस्पर्धामा दुवै गुमाइसकेको छ।
