दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले दोस्रो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीले पोखराविरूद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको हो। पोखराले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर भेटायो ।

लुम्बिनीलाई जितको लक्ष्यसम्म पुर्याउन सन्दीप जोराले महत्वपूर्ण इनिङ खेले। २२ बलमा २५ रनको इनिङले लुम्बिनीलाई जितको लक्ष्यसम्म पुग्न सहज बनायो। उनी नटआउट रहे।

त्यस्तै दुवै ओपनर सस्तोमा आउट भएपछि दबाबमा परेको टिमलाई माथि उकास्न कप्तान रोहित पौडेलको ब्याटिङ महत्वपूर्ण रह्यो। रोहितले ३६ बलमा ४० रनको योगदान दिए। उनी प्लेयर अफ द म्याचसमेत भए।

ओपनिङका लागि आएका डी आर्सी सर्ट ७ र सुमित महर्जन शून्य रनमा आउट भए। त्यस्तै निरोशन डिकेवेलाले ३७, दिलिप नाथले १० गुलबिदिन नैबले १७ र रुबेन ट्रम्पेलम्यानले ९ रनको योगदा दिए।
पोखराका लागि विपिन कार्की, माट टेलर र सागर ढकालले २–२ तथा जिमी निसमले १ विकेट लिए। यसअघि ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १५० रनको योगफल खडा गरेको थियो।

पोखराका लागि एडम रोसिङटनले ८१ र जिमी निसमले ५१ रनको महत्वपूर्ण इनिङ खेले। पोखराका यी दुई ब्याटरबाहेक अन्य कुनै दोहरो अंकमा रन बनाउन सकेनन्। कप्तान कशुल भुर्तेल र सुमित वर्मा शून्य रनमा आउट भए।

लुम्बिनीका लागि सेर मल्ल र तिलक भण्डारीले २–२ तथा गुलबन्द नैबले १ विकेट लिए।

पाँच म्याच खेलेर दुईमा जित हात पारेको लुम्बिनी ४ अंकसहित अंकतालिकाको पाँचौँ स्थानमा छ भने ४ म्याचमा एक जित निकालेर २ अंकसहित पोखरा सातौँ स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *