मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। उहाँलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादव मुख्यमन्त्री नियुक्त हुनुभएकाे हो। कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता यादवले यसअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो। उहाँले ७७ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको हो।
आज दिउँसो बसेको ६ दलका नेताको बैठकमा कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति भएको थियो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्रीमा दाबी छोडेपछि कांग्रेसका यादवको नाममा सहमति जुटेको हो।
कांग्रेसका यादवका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टीको समर्थन रहेको छ।
यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो।

