समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ निवेदन दिने हिजोसम्मको समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन्।

आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो। आवेदन गर्नेमा संयुक्त चुनाव चिह्न लिएका र एकल चुनाव चिह्न लिएका राजनीतिक दल छन्। प्राप्त भएको आवेदनमाथि आवश्यक अध्ययन गरी पर्सिसम्म स्वीकृत गरिने आयोगले जनाएको छ।

आयोगले तय गरेको कार्यसूची अनुसार आउँदो पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ। बन्द सूचीमाथि आवश्यक अध्ययन गरी आउँदो माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ। त्यसपछि दाबी विरोध र आवश्यक छानबिन गरी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ।

कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्। यस्तै, १ सय १० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *