प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ सिट जितेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक पहिलो पटक आज दिउँसो बस्दैछ।
संसदीय दलको नेता र प्रधानमन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय लिन रास्वपाले दिउँसो ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो।
केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता सभापति रवि लामिछानेले गर्नेछन् । बैठकमा वरिष्ठ नेता शाह पनि उपस्थित रहनेछन्। रास्वपाको सचिवालय र केन्द्रीय समितिका यसअघिका बैठकमा शाह सहभागी भएका छैनन्।
रास्वपाले केन्द्रीय समितिबाट संसदीय दलको नेता र प्रधानमन्त्रीमा शाहलाई पठाउने निर्णय गर्नेछ । पार्टी विधानको संसदीय दलको नेता निर्वाचन गर्ने व्यवस्थालाई रास्वपा र शाहबीच १३ पुसमा भएको राजनीतिक सहमतिले ‘ओभररुल’ गरेको निष्कर्ष निकालेको रास्वपा केन्द्रीय समितिले शाहलाई संसदीय दलको नेता चयन गर्न निर्देशन दिने भएको हो।
केन्द्रीय समितिले राजनीतिक निर्णय अनुमोदन गरेको तथा रास्वपा विधानको बाधा अड्काउ फुकाउको प्रावधानमा टेकेर शाहलाई संसदीय दलको नेतामा अगाडि बढाउन लागेको हो।
