इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हिजो यस सिजनको लिग चरणअन्तर्गत सबै खेलहरूको तालिका सार्वजनिक गरेको हो।
उद्घाटन खेल भोलि (मार्च २८)मा रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच बेङ्गलुरुमा हुनेछ। दोस्रो चरणअन्तर्गत ५० वटा खेलहरू भारतका १२ विभिन्न शहरमा आउँदो अप्रिल १३ (चैत २९) देखि मे २४ (जेठ १०) सम्म आयोजना हुनेछन्।
बीसीसीआईले यसअघि प्रारम्भिक २० खेलको तालिका मात्र सार्वजनिक गरिएकोमा अब लिग चरणका बाँकी ५० खेलको तालिका पनि सार्वजनिक गरेको हो।
प्रारम्भिक चरणमा २० खेलहरू विभिन्न १० वटा मैदानमा खेलाइनेछन्। त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म ५० खेलहरू आयोजना गरिनेछन्। यी खेलहरू भारतका १२ विभिन्न शहरमा हुनेछन् जसमा बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ समावेश छन्।
दिउँसो हुने खेलहरु नेपाली समयअनुसार दिउँसो पौने ४ बजे र बेलुकीका खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछन्।

