आगामी वैशाख १ गतेदेखि प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्स कार्यक्रमहरू बन्द हुने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गरेर विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू बन्द गर्ने जनाएको हो।

यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने मन्त्रालयको भनाइ छ। 

यस्ता कार्यक्रमहरू सञ्चालन भए अनुगमन गरी प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ।