इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई हराएको छ।
गुवाहाटीमा सोमबार भएको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ८ विकेटले पराजित गर्दै सहज जित हासिल गर्यो। पहिले ब्याटिङ गरेको चेन्नई १ सय २७ रनमा अलआउट भयो।
जवाफमा राजस्थानले १२ ओभर १ बलमा २ विकेट गुमाएर १ सय २८ रन बनाउँदै लक्ष्य पूरा गर्यो। राजस्थानका १५ वर्षे युवा खेलाडी वैभव सूर्यवंशीले मात्र १५ बलमा अर्धशतक प्रहार गर्दै खेललाई एकतर्फी बनाए। उनले ५२ रनको उत्कृष्ट इनिङ्स खेले। यशस्वी जैसवाल ३८ रनमा अविजित रहे।
गुवाहाटीको पिच सुरुमा ब्याटिङका लागि कठिन थियो। टस जितेर बलिङ रोजेको राजस्थानले त्यसको राम्रो फाइदा उठायो।
जोफ्रा आर्चर र नान्द्रे बर्गरले चेन्नईको शीर्षक्रम ध्वस्त पारे। बर्गरले दोस्रो ओभरमै सञ्जु स्याम्सनलाई आउट गर्दै पहिलो सफलता दिलाए। त्यसपछि आर्चरले १ सय ४३ किलोमिटर प्रतिघण्टा गतिमा बलिङ गर्दै रुतुराज गायकवाडलाई बोल्ड गरे।
दुवै ओपनर स्याम्सन र गायकवाड समान ६ रनमा आउट भएपछि चेन्नई दबाबमा पर्यो। आयुष म्हात्रे गोल्डेन डकमा आउट भए भने डेवाल्ड ब्रेभिस घाइते भएपछि मौका पाएका म्याथ्यू शर्ट पनि चाँडै आउट भए। ६ ओभरमा चेन्नईको स्कोर ३८–४ थियो।
राजस्थानका लागि रविन्द्र जडेजाले पनि उत्कृष्ट बलिङ गरे। उनले आफ्नो पहिलो ओभरमै २ विकेट लिए।
जडेजाले सरफराज खानलाई एल्बीडब्लू आउट गरे भने शिवम दुबेलाई क्याच आउट गराए। उनले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए।
एक समय चेन्नई १ सय रनभन्दा कममै समेटिने अवस्थामा पुगेको थियो। तर जेमी ओभरटनले ३६ बलमा ४३ रन बनाएर टोलीलाई १ सय २७ रनसम्म पुर्याए। उनले अन्सुल कम्बोजसँग अन्तिम विकेटका लागि ३३ रनको साझेदारी गरे।
१ सय २८ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि वैभव सूर्यवंशीले आक्रामक ब्याटिङ गरे। उनले १५ बलमै अर्धशतक पूरा गर्दै चेन्नईका बलरमाथि दबाब सिर्जना गरे।
उनको शानदार इनिङ्सपछि राजस्थानले ८ विकेट बाँकी रहँदै र लगभग १२ ओभर १ बलमा लक्ष्य पूरा गर्दै जित निकाल्यो।
