दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपिएल) मा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ।
बुधबार भएको खेलमा घरेलु टोली लखनउले पहिले ब्याटिङ गर्दै १८.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो। लखनउका लागि अब्दुल समदले सर्वाधिक ३६ रन बनाए। दिल्लीका बलर लुंगी एन्गिडी र टि नटराजनले समान ३ तथा कुलदीप यादवले २ विकेट लिए।
१ सय ४२ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात भने निकै कमजोर रह्यो। पावरप्लेभित्रै दिल्ली २६ रनमा ४ विकेट गुमाएर दबाबमा पर्यो। लखनउका बलर मोहम्मद शामी, प्रिन्स यादव र मोहसिन खानले बल स्विङ गराउँदै दिल्लीका ब्याटरलाई निकै समस्या दिए।
तर त्यसपछि समिरले खेलको दिशा बदलिदिए। उनले ट्रिस्टन स्टब्ससँग मिलेर पाँचौँ विकेटका लागि अविजित १ सय १९ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याए। रिज्वीले ४७ बलमा ५ चौका र ४ छक्कासहित अविजित ७० रन बनाए । स्टब्स ३२ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे।
समिरले विशेषगरी स्पिन बलिङविरुद्ध आक्रामक ब्याटिङ गर्दै खेल आफ्नो पक्षमा पारे। उनले १८ औं ओभरको पहिलो बलमै चौका प्रहार गर्दै दिल्लीलाई १७.१ ओभरमा १४५/४ को अवस्थामा जित दिलाए।
अब दिल्लीले अप्रिल ४ मा मुम्बई इन्डियन्ससँग खेल्नेछ भने लखनउ सुपर जायन्ट्सले अप्रिल ५ मा सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्नेछ।
