सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाका आधारमा उक्त टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए।
झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खागसहित बर्जु–६ ताल नजिकबाट चार जनालाई नियन्त्रणमा लिएको उनले बताए। पक्राउ परेकाको साथबाट एउटा खाग, दुईवटा मोटरसाइकल बरामद गरिएको कार्कीले बताए।
पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ। यसको सञ्जाल ठूलो भएको र अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरेको उनले बताए।
