काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति झन्डै ९९ प्रतिशत पूरा भई हस्तान्तरण गर्ने तयारी भएको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिनुभयो।
सुरुङमार्ग सञ्चालनका लागि चिनियाँ कम्पनी युसिन–एआरटी जेभीलाई ५ वर्षको ठेक्का दिइएको छ। ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा विभिन्न कारणले चार पटक म्याद थपिँदा थप ३६ महिना समय लागेको उहाँको भनाइ छ। झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमानमध्ये १६ अर्ब निर्माण र ६ अर्ब जग्गा अधिग्रहणमा खर्च भएको छ भने वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ।
२.६८८ किलोमिटर लामो यस सुरुङमार्गमा दुई वटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएका छन्। जसमा एउटा गाडी आवतजावतका लागि र अर्को आपत्कालीन उद्धारका लागि निर्माण गरिएको हो। दुवै सुरुङ हरेक ३७५ मिटरमा आपसमा जोडिएका छन्। मुख्य सुरुङ ११ मिटर चौडा रहेको छ जसमा दुई लेन र बीचमा डेढ मिटरको दूरी छुट्याइएको छ।




