राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो।
सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। यो नतिजा गत वर्षभन्दा ४.१७ प्रतिशतले बढेको हो।
नतिजाअनुसार, जीपीए (३.६० देखि ४.००) सम्म ल्याउने विद्यार्थी ४८ हजार ३९२ जना, जीपीए (३.२० देखि ३.६०) सम्म ल्याउने विद्यार्थी ८० हजार ३७२ जना, जीपीए (२.८० देखि ३.२०) सम्म ल्याउने विद्यार्थी ९४ हजार २२२ जना रहेका छन्।
त्यस्तै, जीपीए (२.४० देखि २.८०) सम्म ५५ हजार ९७७ जना, जीपीए (२.० देखि २.४०) सम्म पाँच हजार १९० जना, जीपीए (१.६० देखि २.०) सम्म सातजना रहेका छन्।
सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो। ‘३० दिनभित्र नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएको थियो। २९ दिनमै नतिजा प्रकाशित भएको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरेकाले छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको हो।’
विगतका वर्षहरूमा ३ महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। विद्यार्थीलाई तनाव हुन नदिन सरकारले १ महिनामा नतिजा सार्वजनिक गर्न भनेको हो।
त्यसैले यसवर्ष परीक्षा केन्द्रमा नै परीक्षण गर्दा धेरै विद्यार्थी उत्तीर्ण हुने आशंकासहित प्रश्नहरू पनि उठेको थियो। तर शिक्षकहरूले आफ्नो मर्यादामा रहेर नै उत्तरपुस्तिका परीक्षण गरेको नियन्त्रक अधिकारीले बताए।
नतिजा सुधार हुनुमा विद्यार्थी र शिक्षकको प्रयत्नले भएको बोर्डको निष्कर्ष छ।
