प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ।

संवैधानिक परिषद्ले गएको वैशाख २४ मा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। लगत्तै संसदीय सुनुवाइ समितिको बैठकले शर्मा विरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। डा. शर्माविरुद्ध १६ वटा उजुरी परेको स्रोतले जनाएको छ।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको जानकारी दिनुभयो। प्राप्त उजुरी खोल्नका लागि अहिले बिहान ८ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक राखिएको छ। उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ। 

त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ। संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ।