दाङको तुलसीपुर–३ बल्लेमा जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको शनिबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार पुनसहित उहाँको परिवारका पाँच जना र अर्को परिवारका दुई जनाले जंगलबाट ल्याइएको जङ्गली च्याउ पकाएर खाएपछि अस्ति शुक्रबार बिरामी परेका थिए।

बिरामीमध्ये दिपा पुनको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको थियो। घोराहीबाट थप उपचारका लागि गोग्लीको संजीवनी अस्पतालमा पठाइएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा हिजो ज्यान गएको हो।

प्रहरी नायब उपरीक्षक केसीका अनुसार अरु ६ जना उपचारपछि सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज गरिएको छ। दशरथी पुन, डम्बरबहादुर पुन, तिलक पुन, विपीन पुन, विवेक पुन र सुमन बुढाथोकी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। जङ्गली च्याउ नखान प्रहरीको आग्रह छ।