भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। कक्रोच जनता पार्टीको नेतृत्वमा राजधानी नयाँ दिल्लीसहित देशभर विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानले शनिबार पदबाट राजीनामा दिएका हुन्। प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामाबारे जानकारी दिएका छन्।

‘नीट’ प्रश्नपत्र बाहिएको घटनामा विद्यार्थीहरूले शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै आन्दोलन चर्काएका थिए। ‘नीट’ भारतमा हुने एक राष्ट्रिय स्तरको प्रवेश परीक्षा हो। मेडिकल क्षेत्रमा आफ्नो करियर बनाउन चाहने विद्यार्थीले यो परीक्षा पास गर्नु अनिवार्य हुन्छ।

‘जन्तर–मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा लगाऊन् र करियर निर्माणमा केन्द्रित होऊन् भन्ने विषयलाई ध्यानमा राख्दै मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु,’ उनले लेखेका छन्।