काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रूखबाट खसेर मृत्यु भएको छ। मंगलबार दाउरा काट्ने क्रममा रुखमाथिबाट खसेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले जानकारी दिनुभयो।
रूखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रमुख ढुंगानाले जानकारी दिनुभयो । वडा सदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित थिए।
वडा सदस्यको निधन भएको शोकमा नीलकण्ठ नगरपालिकाले भोलि बुधबार नगरपालिकामा बिदा दिने निर्णय गरेको छ । नीलकण्ठ–१० का वडा सदस्य तिमिल्सिनाको निधनमा नगरपालिका तथा मातहतका वडा कार्यालयमा एक दिनका लागि शोक बिदा दिने निर्णय गरेको हो ।
