काठमाडौँ । प्रहरीमा जनपद समूहतर्फ ८ जना र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, नर्सिङतर्फ १ गरी ९ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले निकालेको बढुवा सिफारिस सुचीमा एक नम्बर वरीयतामा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्रीलाई छुटाइएको छ ।

एसपी बढुवामा सिफारिस हुनेहरूमा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय बजेट शाखामा कार्यरत डिएसपी ढकेन्द्र खतिवडा, जिल्ला प्रहरी परिसर काठमाडौँको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत डिएसपी अंगुर जि.सी., राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेपाल प्रहरी आत्मरक्षा तथा खेलकुद प्रशिक्षक समूह महाराजगंजमा कार्यरत डिएसपी यादव ढकाल, नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण काठमाडौंमा कार्यरत डिएसपी सन्तोष तामाङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगालमा कार्यरत डिएसपी श्यामबाबु ओलिया, नेपाल प्रहरी विद्यालय साँगामा कार्यरत डिएसपी निरञ्जन दत्त भट्ट , प्रहरी प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखा नक्सालमा कार्यरत डिएसपी राजन लिम्बू र नेपाल प्रहरी पहरा गण मुख्यालय सामाखुसी काठमाडौंमा कार्यरत डिएसपी विनोद घिमिरे एसपीमा बढुवाका लागि सिफारिस भएका छन्।

६ नम्बर वरीयतामा रहेका नारायण रंजितकार पनि बढुवाको सुचीमा परेनन् । उनीहरू २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए ।

मेरिट लिस्टमा अगाडि रहेका क्षेत्री र रंजितकारलाई पछाडि पारेर ९ नम्बर वरीयतामा रहेका सन्तोष तामाङ र १२ औँ नम्बरका विनोद घिमिरेलाई बढुवा सिफारिस गरिएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको दबाबमा मेरिटको आधारमा बढुवा गर्ने अडानबाट आईजीपी कुँवर पछि हटेका छन् । मेरिट कायम राखेर बढुवा गर्ने वा शक्तिकेन्द्रका निकटलाई बढुवा गर्ने भन्नेबारे मतभेद हुँदा लामो समयदेखि बढुवा रोकिएको थियो ।

नौ महिनादेखि रिक्त रहँदै आएको एसपी पदमा ठूलो प्रयासपछि हिजो राति बढुवा सिफारिस गरिएको हो । रिक्त पदमा बढुवा समयमै नगर्दा वृत्ति विकास लगायत अन्य कुरामा असर परेको अधिकारीहरूले बताउँदै आएका थिए ।

त्यस्तै प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङतर्फ नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगन्जमा कार्यरत डिएसपी कमला लामाको प्रहरी उपरीक्षक एसपीमा बढुवाका लागि सिफारिस भएका भएको हो । 

त्यसैगरी प्राविधिक समूहतर्फ स्वास्थ्य, इन्जिनियरिङ, केनाइन र हातहतियार(आरमर) उपसमूहका एक-एक जना गरी चार जना प्रहरी निरीक्षक(इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक(डिएसपी)मा बढुवा सिफारिस गरिएको छ ।