काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्रावि, कास्कीकोटका तत्कालीन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको, लेखापरीक्षण प्रतिवेदन यथार्थ नभएको र सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा साविक कास्कीकोट गा.वि.स वडा नं १ स्थित सदाशिव प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमले विद्यालयको हरहिसाबमा ३ लाख ७७ हजार २७७ अनियमितता गरेको आरोप लगाएको छ ।

आर्थिक वर्ष २०६८ साल श्रावणदेखि ०६९ आषाढ र आर्थिक वर्ष २०६९ साल श्रावणदेखि ०७० आषाढ महिनासम्मको आम्दानी खर्च विवरणमा पारदर्शी नगरेको, सही लेखा परिक्षण नगरेर विद्यालयलाई ३ लाख ७७ हजार नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।