काठमाडौँ । प्रत्येक वर्षको चैत्र शुक्ल चतुर्दशीका दिन मनाइने तेमाल जात्रा काठमाडौँको बौद्धमा आज मनाइएको छ ।
तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो । तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन् ।
प्राचीनकालमा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदाय आएर मनाउने गरेकोले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मालम्बीहरुले यो पर्व मनाउने गरेका छन् ।
यस जात्राका क्रममा दिवङ्गत पितृका नाममा बत्ती बालेका दर्शनार्थीले पूर्णिमाका दिन बिहान बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगि पूजा गर्ने पनि चलन छ । उनीहरु रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरुको मोक्षका लागि कामना गर्दछन् ।







