काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणमा हिजो नेपाल आएका अमिरले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । 

भेटपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । दुई देशबीच विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका विषयमा सहकार्य प्राथमिकतामा छन् ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपराह्न नेपाल आइपुगेका हुन्। विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको थियो। उहाँको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो। विमानस्थलबाट थानी सीधै शितल निवास पुग्नुभएको थियो।

शितल निवासमा भएको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिर थानीको सम्मानमा हिजो साँझ राजकीय भोजको आयोजना गर्नुभयो । रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवम् विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *