काठमाडौँ । शनिबार उपनिर्वाचन हुन लागेका इलाम र बझाङ जिल्लाभर आजदेखि मौन अवधि सुरू भएको छ । प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा शनिबार उपचुनाव हुँदैछ।
निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन नसकिँदासम्म ती क्षेत्रमा चुनावी प्रचारप्रसार गर्न पाइँदैन।
४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम निषेधको अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदी गर्न र उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबर जस्ता विद्युतीय माध्यम तथा सामाजिक सन्जालबाट समेत मत माग्न निषेध गरिएको निर्वाचन आयोगले बताएको छ।
यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको मतदान वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

