काठमाडौँ । रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई जन्म कैदको फैसला भएको छ ।
जिल्ला अदालत रौतहटले आलमलाई बिहीबार जन्मकैद हुने फैसला सुनाएको हो । जन्मकैदको फैसला पाउनेमा आलमका भाइ महताब आलम र अन्यमा शेष सेराज र बद्री सहनी रहेका छन् । सहनी ईटा भट्टाका मुनसी थिए ।
त्यस्तै आरोपी मुक्ति शाहले सफाई पाए भने अन्य ६ जनालाई मुलतवीमा राखिएको छ । ६ जना फरार रहेकाले मुद्दा मलतबीमा राखिएको बताइएको छ ।
पहिलो संविधानसभा निर्वाचनताका रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेको मुद्दामा उनलाइ प्रहरीले ०७६ असोजमा पक्राउ गरेको थियो ।
उक्त घटनामा संलग्न भन्दै प्रहरीले मोहम्मद अफताब आलम, शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताब आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो । जसमा ६ जना पक्राउ परेका थिए ।
घटनाको १२ वर्षपछि प्रहरीले आलमलाई रौतहटस्थित निवासबाटै पक्राउ गरेको थियो ।
