काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिकाकाकी वर्तमान उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह समेत ६ जना उपर शुक्रबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।
एकडरा गाउँपालिका-१ अन्तरगतका स-साना सडक ढलान गर्ने क्रममा विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको आरोपमा आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंह, इन्जिनियर सुभाष, योजना शाखा प्रमुख (अधिकृत छैटौँ) महेन्द्र कुमार मण्डल, असिस्टेन्ट सव-इन्जिनियर सञ्जय कुमार मंडलविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपसहित मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा उनीहरू गुणस्तर नै चेकजाँच नगरी सम्झौता बमोजिमको कार्य सम्पन्न भएको भनी गलत प्रतिवेदन स्वीकृत गरी ८ लाख ६५ हजार १४५ रुपैयाँ भुक्तानी दिने कार्यमा संलग्न भएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
आयोगले सरोजकुमार सिंह, सुभास पाण्डेय, महेशकुमार मण्डल र संजय मण्डललाई ८ लाख ६५ हजार १४५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानाको माग गरेको छ।
