काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।
आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
आयोगकाअनुसार चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको छ । आयोगले कुनै पनि अवाञ्छित गतिविधिबाट मतदान प्रभावित हुन नदिनेतर्फ सचेत रहेको जनाएको छ ।
इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ-१ का प्रदेशसभा सदस्य नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज उपचुनाव हुन लागेको हो । आयोगकाअनुसार इलाम २ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।
इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस्तै बझाङ १ (क) मा कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । बझाङको उपचुनावमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
