काठमाडौँ — काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरीमा संलग्न महिलाको विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि शिशु चोरी गरेको पाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट शिशुलाई उद्दार गरेको छ भने बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो । स्रोतका अनुसार, प्रहरी टोली उनको घरमा पुग्दा सिंहले शिशुलाई आफूले नै जन्म दिएको दाबी गरेकी थिइन् । उनले बाटोमा जन्माएर ल्याएको दाबी गरेको एक अधिकृत बताउँछन् ।
