काठमाडौँ । आगोले जलेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ। हिजो दिउँसो हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा जलेर ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो।
बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा शुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताएका छन्। केही दिन अघिदेखि स्थानीय जङ्गलमा डढेलो लागिरहेको जनाइएको छ। अहिले जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको छ।
घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
