काठमाडौँ । नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि पक्राउ परेका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौँबाट मङ्गलवार नियन्त्रणमा लिइएका सिरोहियालाई शुक्रवार दोस्रो पटक म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै प्रहरीमा उजुरी परेपछि अनुसन्धान शुरु भएको हो ।
न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले हिजो सिरोहियालाई थप तीन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्ताहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले सिरोहियाको पक्षमा बहस गर्नुभएको थियो ।
अदालत लैजानुअघि जिल्ला सरकारी वकिलको कार्यालयमा सिरोहियासँग बयान लिइएको थियो। बयानका क्रममा उनले आफूले एउटा मात्र नागरिकता लिएको र किर्ते नगरेको दाबी गरेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियालाई थप पाँच दिन हिरासतमा राख्न माग गरेको थियो।
