सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो ।
गएराति सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत सुर्खेतको विरेन्द्रनगर नरपालिका-१३ रातानाङ्गला नजिकै टाकुरी मोडबाट खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटना भएको सूचना प्रहरीले बिहीबार बिहान सवा २ बजे प्राप्त गरेको थियो। त्यसपछि प्रहरी दुर्घटनास्थल पुगेको उनले बताए । उनका अनुसार जिप अन्दाजी ४ सय मिटर तल खसेको बताए । मृतकको सनाखत भइसकेको छैन।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको छ । घाइतेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का अन्दाजी २८/२९ वर्षका नरी कामी र खाडाच्कर नगरपालिका-९ पाखाका नरेन्द्र विष्ट छन्।
