काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धका समाचार लुकाउन गरेको अनुरोध अस्वीकार गर्दा कैलाश सिरोहियालाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै सम्भवले सहकारीको बचत रकम अपचलनबारे कान्तिपुरले लगातार समाचार लेखेपछि त्यो नलेख्नु भनेर रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले गरेको अनुरोध अस्वीकार गर्दा आफ्ना त्यही रिसमा बुबा कैलाश सिरोहियालाई पक्राउ गरिएको आरोप लगाएका हुन् ।

उनले आफ्ना बुवा कैलाश सिरोहियालाई ‘झुटो आरोप’मा पक्राउ गराएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘रास्वपाका रवि लामिछानेज्यू जो गृहमन्त्री छन् । उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि, मिलाइदिनका लागि । उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो । सेटिङ गरेर समाचार बन्छ । वा लुक्छ जस्तो सोच्नुभयो । उहाँलाई कति अनुरोध गरियो । व्यवस्थापनले समाचार लेख्दैन । सम्पादकीय स्वतन्त्रता छ । उहाँले त्यो बुझ्दै बुझ्नुभएन । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनुभयो । उहाँले आफ्नो शक्ति दुरुपयोग गर्दै झुटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो।’

साथै उनले आफ्ना बुवा कैलाशले वंशजको नागरिकता कसरी पाएको भन्ने विषयमा पनि प्रस्ट्याएका छन् । ९ भाइ छोरामध्ये कैलाश कान्छो रहेको र उनका दाजुहरूले नागरिकता पाउँदा हजुरबुवाले नागरिकता नै नपाएको उनले दाबी गरेका छन्। पछि हजुरबुवाले नागरिकता लिएपछि बुवा कैलाशले बंशजको आधारमा नागरिकता प्राप्त गरेको सम्भवको जिकिर छ ।

‘आज उहाँले लगाउनु भएको झूटो आरोपको सत्य बताउन चाहन्छु। कैलाश सिरोहिया, हामीजस्तै नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हो। उहाँ जन्मदा उहाँको बुवा नेपाली नागरिक भएको भएर उमेर पुगेपछि हामीजस्तै उहाँले प्रमुख जिल्ला अधिकारीको कार्यालय गएर नागरिकता प्राप्त गर्नुभएको हो। भ्रमचाहिँ के फैलाइयो भने कैलाश सिरोहियाका दाइहरूले अर्कै क्याटेगोरी (किसिम) को नागरिकता पाएका छन्, उहाँले अर्कै क्याटेगोरीको पाउनुभयो। गृह मन्त्रालयको नियम गृहमन्त्री आफैले बुझ्नुपर्ने हो। दाइहरू जन्मदा हजुरबुवाले नागरिकता प्राप्त गनुभएको थिएन। नौ जना मध्येका कान्छा छोरा कैलाश जन्मँदा हजुरबुवाले नेपाली नागरिता प्राप्त गरिसक्नुभएको थियो। यति सामन्य कुरालाई के–के न जस्तो हल्ला गरियो,’ उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *