काठमाडाैँ । नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंक लिमिटेडको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् । काठमाडौँमा बैंकले शुक्रबार आयोजना गरेको एक कार्यक्रमका विच भण्डारीलाई सद्भावना दूत नियुक्त गरेको जानकारी दिएको हो ।

बैंकले साम्बासँग सम्झौता हस्ताक्षर समारोहको आयोजना गरेको थियो । सम्झौता पत्रमा बैंकका मार्केटिङ एण्ड सेल्स डिपार्टमेन्टका उप-महाप्रबन्धक यज्ञ प्रसाद न्यौपाने र र साम्बाले हस्ताक्षर गरेका थिए । साम्बा र बैंक बीचको सम्झौता १ वर्षका लागि रहेको छ । वर्षको आठ लाख रुपैयाँ बराबरको ‘ट्रेनिङ किट’ अर्थात् प्रशिक्षण सामग्री दिने गरी बैंक र भण्डारीबीच एक वर्षको सम्झौता भएको हो ।

सम्झौताअनुसार सावित्रा भण्डारी एक वर्षका लागि बैंकको ब्रान्ड एम्बेसडरका रूपमा रहनेछिन् र सम्झौताबापत बैंकको प्रचारमा सहयोग गर्नेछिन् । सम्झौता कार्यक्रममा भण्डारीले गाँउको बारीमा फुटबल खेलेर अन्तर्राष्ट्रियस्तरसम्म पुग्नु सानो कुरा नभएको बताइन् ।

“महिला भएर जन्मिँदा र खेलकुदमा लाग्दै गर्दा समाजको नजरले गर्दा मलाई फुटबलमा लाग्ने नशा चढ्न थालेको थियो । त्यो समयमा फुटबल खेल्न पर्याप्त किट हुन्थेन । सो समयमा मोजाको बल सहित खेल्थे, अभावको बीच करियर सुरु गरेकी थिएँ।” उनले भनिन् । साम्बाले कार्यक्रम मार्फत अन्य कर्पोरेट हाउसहरुलाई पनि अन्य खेलाडीहरुलाई पनि उत्प्रेरित गराउनका लागि यस्तै कार्यहरु गर्न अपिल समेत गरिन् । त्यस्तै उनले सबै व्यवसायिक घरानाले महिला फुटबललाई साथ दिए नेपाली फुटबलले अझ उचाई लिने कुरा समेत व्यक्त गरेकी छन् ।

साम्बा हाल फ्रेन्च शीर्ष डिभिजन टोली एन अभान्ट ग्वेंगाम्पमा आवद्ध रहेकी छन् । नेपाली महिला लिग हुँदै भारतीय शीर्ष डिभिजन खेलेकी साम्बा इजरायलको लिग हुँदै युरोपको शीर्ष मध्य एक फ्रेन्च शीर्ष डिभिजन पुग्न सफल भएकी हुन् । साम्बा नेपाली राष्ट्रिय टोलीकी शीर्ष गोलकर्ता समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *